काठमाण्डौं महानगरपालिका नवनिर्वाचित मेयरले पदको सपथग्रहण पश्चात साइरन भएको गाडी कार्यालय प्रवेश गरेछन् । पदका हिसावले महानगरपालिकाका मेयरको सवारीमा यो सुविधा छैन । साइरनै ठोकेर हुइँकिनु पहिलो दिन मै अलि भद्दा देखियो ।

फेरि यसपालि संयोग पनि कस्तो जुर्यो भने मुख्य पार्टीले मेट्रोरेलको आवश्यकता सँगै देखे यसले जनतामा आशा छायो जसले जिते पनि रेल त चढिने भो भनेर ।

फेरि यै आशा र स्वर्णिम भविश्यका बीच मुसलधरे पानी प¥यो । केही समयलाई गज्जबले परेको पानीलाई झ्यालबाट हेर्दा जति रोमाञ्चक देखियो बाटामा उति कै सकसपूर्ण । पुतलीसडकमा दशकौंमा सार्क सम्मेलन ताका जेट पम्प ल्याएर ढल सफा गरिएको थियो । प्रत्येक वर्षामा त्राहिमाम हुने पसलेहरु खुसी थिए अब पानी पर्दा ढलले पसल छिचोल्ने छैन भनेर अनि बन्द नगरी ब्यापार गर्न पाए पछि उनीहरुलाई अरु केही चाहिएन ।

आजको पानीले मुख्य सडकबाट बाइकहरु पास हुन नसक्ने स्थिति फेरि दोहोरियो । फेरि आयो त्यो कालो रात हैन दिन नै । अनि आफूले पनि भटभटे अन्तै मोडेर जाँदै गर्दा दिमागमा एउटै कुरो आइरह्यो मेट्रोको परिकल्पनाकारले ढल ब्यवस्था गर्ने कुरा घोषणापत्रमा राखे कि राखेनन, आजको डुबानमा के गरे अनि भोलि के गर्लान्?