राजाको शासन अन्त्य पछि एक हिसाबले नाम फेर्ने होड नै चल्यो । अगाडि ‘राज’ अनि ‘रोयल’ लाई लुतो सरी फाल्न सरकार तल्लिन थियो । जनतामा भने नाम फेर्दैमा केही हुँदैन कामले फेरिनुपर्छ भन्ने कुरोले जरो गाडेको थियो ।

यही ताका हुनुपर्छ नयाँ नाम सुनिन थालियो । लोकबिलोक भयो राजबिराज भन्ने जोक पनि धेरैले सेयर गरेका थिए । रोयल हटाए पछि स्ट्याग मात्र रहने भयो पियक्कड साथीहरु पनि चिन्तित नै थिए ।

अनि यो नाम फेर्ने बकम्फुसे कामको सांकेतिक विरोध स्वरुप हुन सक्छ ठाउँको नामको अघि रोयल लेखेर धस्काउने चलन नै चलाए विशेष त गाडी चलाउने साथीहरुले । सार्वजनिक सवारीका पछि आफ्नो ठामको नाम जोडेर लेख्ने । रोयल जनकपुर, सिन्धुली, काभ्रे यस्तै यस्तै । हुनत रोयल राजपरिवारसँग मात्र नजोडिएर विशेष भन्ने पनि बुझिन्छ ।

अब रोयल भन्ने शब्द ठूला स्थानहरुबाट लोकलाइज भएछ । ठूला ठाउँ तेसै पनि पपुलर नै हुन्छन् नि । यो पोष्टमा भएको फोटोमा रोयल केउरेनी छ । अब केउरेनी कता छ कसरी जान्नु? नामसँगै साथीहरुले नक्सा नि राखिदिए अरुलाई पुग्न सजिलो हुने थियो ।