ओलीबाको भारत भ्रमण पछि सामाजिक सन्जाल एक किसिमले दुई चिरा परेको छ । एकथरिले भ्रमणलाई सफल, अभूतपूर्व देख्नु अनि अर्काले बेतुकको, परम्पराको निरन्तरता भनेका छ्न्। भ्रमणलाई सबै कुरो सल्टाउने कडी देख्ने र माग्ने कचौरा सोझ्याउने सही मौका हो भनी देखाउने चस्मालाई एकछिन छेउमा राख्ने हो भने यो सम्बन्ध प्रगाढ बनाउने मेसो हो, जसरी हामी छिमेकमा,साथीभाईकोमा ईष्टमित्रकोमा गएर आफ्नो सम्बन्धलाई ताजा बनाउछौँ । देशको प्रमको भ्रमण भएकाले धेर व्याख्या विश्लेषण हुनु पनि स्वभाविक नै होला ।
यहाँ चर्चा गर्न खोजिएको कुरो चाहिँ यो भ्रमणको विषयमा टिप्पणी गर्नु नभै राम्रो नराम्रो वा सफल असफल भनी राय दिनुको हतार किन भन्ने गम्नु हो ।
सामाजिक सन्जालमा सबै ज्ञानी देखिन्छ्न् । घरमा सानो कुरो नमिलेर आफ्नो दैनिकी खल्बलिएकाहरु नि छिमेक राष्ट्रका सम्बन्ध कसरी राम्रो बनाउनेमा केही हरफ मात्र नभै कार्यपत्र नै तयार गरि आफ्नो विशेषज्ञता प्रस्तुत गर्ने मौका ढुकिरहेका हुन्छ्न् । अनि ट्रम्पका अवसर र चुनौतिमा लम्बाचौढा जानसक्नेहरुलाई दैनिक जिवनका चुनौती र अवसर सोच्नु आफुलाई तुच्छ बनाउनु हो भन्ने निर्क्योल निकाल्न कसैले रोक्दोरहेनछ, छेक्दोरहेनछ ।
ल हेर्नुस फेरि विषयबाट हुत्तियो कुरो। चुरो कुरो चाहिँ के भने नि कालो र सेतोमा मात्र रङ देख्ने रोगले हामी गाँजिएका छौँ जब कि संसार अनि जीवन धेर समय कालो वा सेतोमा नभै कैलोमा रुमल्लिएको हुन्छ।
नागरिकताको फोटो हेर्नुस त कति पत्रु लाग्छ अनि फेसबुकको ब्युटीप्लसले बनाएको प्रोफाइल पिक्चर सोही अनुपातमा विपरित तर बिछट्टै राम्रो । हामी त न नागरिकताको फोटोमा जस्तै छ्म् न त फेसबुकका झै चिटिक्क, ती दुईको बीच तिर छम् कि कसो। अनि जब धेर कुरो औसतमा चलिरहेको र चलिरहने दैनिकी छ, अरु कुरो लाई शून्य वा सय मात्र जोख्ने तराजु अगाडि ल्याइहाल्ने हतारो बढो हास्यास्पद छ ।
कुरोको फोकस के भने नि अहिले त भएको भ्रमण मात्र न हो, भोलिका दिनका कार्यदिशाले पो सफलता मापन गर्ला अहिलेलाई पर्ख, हेर अनि धेर नबोल गर्दा राम्रै होला नि हैन र । अनि यो दुवै पक्षलाई सरकार अनि विपक्षी कै हकमा भनी टोपल्न खोजेको हो है। इति