सुधन सुवेदी
शान्तिको कुरा गरियो,
प्रोफाइलमा बुद्ध राखियो,
दुई हरफ भित्री शान्तिका।
केही लाइक आए,
एउटा कमेन्ट,
एउटा सेयर।
मन शान्त भयो कि नोटिफिकेसन?
फेरि अर्को पोस्ट—
हार नमान्ने,
लडिरहने,
योद्धा बन्ने।
लडाइँ कससँग हो?
आफ्नै औँलाले स्क्रिनसँग।
मोबाइल हातमा छ,
अब हात मोबाइलमा छैन,
मान्छे मोबाइलभित्र छ।
किताबका पाना नपल्टाएको धेरै भयो,
तर फिडको अन्तिम पोस्ट
एकैछिन पनि छुट्दैन।
घुमन्ते भनिन्छ,
तर पाइला भन्दा
स्क्रोल धेरै हिँड्छ।
आइडियाको कारखाना भनिन्छ,
विचारभन्दा प्रम्प्ट धेरै जन्मिन्छन्।
एल्गोरिदमले देखाएकोमा हाँस्छौँ,
एल्गोरिदमले देखाएकोमा रिसाउँछौँ,
एल्गोरिदमले देखाएकोमै मत बनाउँछौँ।
सल्लाह धेरै दिन्छौँ,साथ कम ।
कमेन्ट धेरै गर्छौँ,कुरा कम ।
संसार औँलाको टुप्पोमा छ,
तर आफ्नै मन पहुँचबाहिर।
अनलाइन हरदम,आफू अफलाइन।
जोडिएका सबैसँग,छुट्टिएका आफ्नैसँग।
एल्गोरिदमले
हामीलाई पढेन,
हामीले नै
आफ्नो जीवन
उसलाई पढ्न दियौँ।



