Nepal Ko Page नेपालको पेज

Everyday is just another day with twist; bitter and butter..life goes on

Menu Close

म ब्लगर

२०६३ वैशाख ११ राती राजाले सत्ता छोडे, लगतै जुलुस निस्कियो । जुलुस पश्चात मध्यरात मै अंग्रेजीमा एक ब्लग ठोकिएको थियो बिजयी भावमा । १४ वर्षमा बागमतीमा पानी त धेरै बगेन, ढल बग्यो, अभियान धेरै चले । समय एकनासै कहाँ बग्थ्यो र, बगेन । हरेक दिन केही न केही ठोक्ने, ब्लगरका रुपमा परिचित हुने भन्ने चाहना कहिले द्रुत बढ्थ्यो, कहिले ठामको ठाम अजबले रोकिन्थ्यो । लेखन चाँहि जेनतेन चलिरह्यो ।

एक साथीले उक्सायो तँ यस्तो लेख्छस् आफ्नै डोमेन बनाएर लेख । ब्लगस्पटको फ्रि साइटमा अलिअलि छुस्काइरहेको मलाइ यो कुराले तरङ्गित बनायो, अनि जन्मियो नेपालकोपेज डट कम । यसरी नयाँ साइटको यात्रा पनि सोचेकोे लयमा नबढेपनि चलिरहेकै थियो । वर्षको ८ १० हजार खर्च ठूलो हुन थाल्यो, बन्द गरियो साइट ।

ब्लगर भन्ने शब्दले फेरि किन किन तानिरह्यो । नेपालको पेज अरुले पढे पढेनन् आफूलाई भने डोमेन मिस भइरह्यो । अनि अर्को आइटी साथीलाई गुहारेर पून साइट सुचारु गरियो । अनि लेख्ने काम औँसी पूर्णे भइरह्यो ।

ब्लगर कै कुरो यहाँ जोड्छु । भर्खरै एकजना ब्लगर मित्रले नेपाल कोभिड पछिको घुम्नुपर्ने गन्तब्यमा लिस्ट गरेको । पर्यटन क्षेत्रका साथीहरुले त्यो लेखलाई धेर शेयर गर्नुभो । लेख्ने को हो याद त सायदै कसैले गर्नुभो बरु भकाभक शेयर गर्दै आफैलाई र अरुलाई सान्त्वना दिदैँ पर्यटनको राम्रो दिन अवश्य आउने कुरो भनिरहनुभो । नेपाल जस्तै अन्य ९ मूलुक जसलाई घुम्नपर्ने भनिएको थियो उनीहरु देशबाट भएको शेयरले ब्लगको पहँुचलाई उकालो ठेलिरह्यो । फाइदा नेपाललाई भयो नै त्यो भन्दा बढी तेइ ब्लगरलाई भयो । यसरी नै ब्लगरका केमेस्ट्री चलिरहेछ ।

अर्को कुरो नि प्रासङ्गिक होला । चुनाव अघि एउटा पार्टीले बहुमत ल्याउँदै छ भनेर एउटा लिकं भाइरल भो । लिकंमा चलेको मिडिया हाउसको नजिकको नाम थियो । धेरैले त्यो समाचार सही भएको नभएको लिकं खोलेर पत्ता लगाउन तिर लागेनन् । आफूलाई मन परेको पार्टीको सुखद समाचारलाई सही आज्ञापालक सरह शेयर ठोकिरहे । पछि कुरो बुझियो । यो त गलत समाचार कसरी फैलिदोँ रहेछ भनेर बुझ्न गरिएको प्रयोग थियो ।

खैर ब्लगरका रुपमा आफूलाई उभ्याउने भूत झरेको अझै छैन । कुनैबेला एनजियो समय साहै« मौलाएको थियो । तेही मेसोमा अर्को साथीले एनजियो खोल्ने, अभियान गर्ने कुरो सुझाएन मात्रै ढिपी गरिरह्यो । अनि बालअधिकारमा काम गर्ने गैससको सचिव भइयो । सानै संस्थाको सही सचिव भनेको ठूलै हुन्छ नि । यसरी नै परिचय दिइयो । पाइएको उत्तर आजसम्म ताजा छ । काठमाण्डौंमा ठोकिने हरेक ३ जनामा १ जना कुनै गैससको अध्यक्ष कि सचिव हुन्छ । तेसपछि यस्ता परिचयलाई सदाका लागि भित्तामा टाँसियो ।

अघि सचिव कै किस्सामा ब्लगर पनि अछुतो कसरी होला र । ब्लग भनेको डायरी हो अनि दैनिक डायरी लेख्ने वा कहिले कहिले भएनि मनमा जे आउँछ तेही लेख्ने नै ब्लगर हो । आजभोलि परिचय दिँदा ब्लगर वा लेखक चाँहि भन्ने गरेको छु । आफूलाई तेसो भनिराख्दा मेरो ब्लगर वा लेखकको क्राइटेरियामा नपर्ने चाँहि कोही हुँदैनन् । हामी सबै दर्शक, श्रोता, साथी अनि ब्लगर, लेखक ।

© 2020 Nepal Ko Page नेपालको पेज. All rights reserved.

Theme by Anders Norén.