Nepal Ko Page नेपालको पेज

Menu Close

ब्रेकफास्टमा भात

विहानको कलेज, कीर्तिपुरदेखि लैनचौर पुग्नुपर्ने साँढे ६ नै बजे । तेती विहान चिया नास्ता केही चमेना गरेर गाडीको साँढे ५ बजेको फस्ट ट्रिप नै भ्याउनुपर्ने वाध्यता । चिया र केही गज्याङगुजुङ खाएर हिँडेकोले कलेज छुटेर घर फर्किदा पेट कुइँकुइँ मज्जाले गर्थ्यो । सँगै स्कूल पढेको एक साथी चाँहि विहान ४ बजे नै उठीवरि एकथाल भात बजाएर कलेज आउँदो रहेछ । उसलाई कलेज जति लम्बिए नि कुनै चिन्ता हुने कुरै भएन । हैन विहानै कसरी भातै रुचेको होला भन्ने लाग्थ्यो तेतीबेला । अहिले बाउको हटसिटमा आफूलाई राख्दा बच्चालाई स्कूल पुर्याएर अफिस भ्याउने भागमभागमा ४ नै त होइन साँढे ७ तिर पकाइवरि खाने अभ्यस्त भइएछ । यो नि गजबको समयको घुमाइ भो ।

हाम्रामा एउटा कुरो नोटिस गर्नुभाछ । हुनत यस्तो धेरैकामा होला भन्ने गोर्खे बुझाइ भएको नि हुनसक्छ । विहान वा खाना, खाजा केही खाने समयमा घरबाट बाहिर निस्कनु जतिको गार्हो काम केही हुँदैन । खाएर जाम् नभ्याइने अनि नखाई जान खोज्दा अलि तातो त घरबाट खाएर जानैपर्छ भन्ने घरका मानिसका प्रस्ताव भन्दा पनि जोडबल । धेरैजसो कुरो खाएर निस्कने कि खान घरमा आउने भन्ने मै घुमिरहने । हुन त भेट्दा पनि सोध्ने कुरो नि भात खाएको भन्ने नै हो । खाना तेसमाथि हाम्रामा ठूलो भइहाल्यो ।

काममा जान थालेपछि अड्डातिर भात खाइस् भन्ने सोधाइ ब्रेकफास्ट भयो भन्ने तिर मोडिएको छ । भात बजाएर आएको मान्छेले ब्रेकफास्ट नगरेको नठहर्ला भन्ने ज्ञानका साथ मन्द मुस्कानमा टाउको हल्लाउन थालिएको पनि धेरै पो भइसक्यो अब त । सामान्य बुझाइ रातभरिको भोकलाई अन्त्य गर्ने नै ब्रेकफास्ट होला । ब्रेकफास्ट, लन्च, डिनर ३ खुवाइ कै बराबरी हाम्रा २ छाक खाना र बीचको खाजा हो ।
राजा जस्तो भएर प्रात भोजन र रंक जसरी बेलुकाको भोजन स्वास्थ्यको लागि हीतकर मानिन्छ । हाम्रामा भने बढी भात नै बिकेको छ । विहान बनाको भात बाँकि भयो भने दिउँस चाम्रे अनि राती पनि भातले पेट चरक्क नबनाई निद्रा नलाग्ने बानी नै भयो । अब खाने कुरामा कहिले के भन्नेमा विवाद भएन जतिबेला जे खाए नि भयो कुरो चाँहि मात्रा कति भन्ने रहेछ ।

यसलाई नराम्रो वा हेय दृष्टिले देखाउन खोजेको पटक्कै होइन । खाना खाएपछि पत्रु खाना भनिन थालेछ आजभोलि जङ्क फुडको खपत कम हुने हुँदा स्वास्थ्य राम्रो हुने भयो । फेरि ज्यान कै कुरा गर्ने हो भने पनि शरीर त भातका लागि फिट जस्तो नि लाग्छ हाम्रो त । बरु हाम्रा सन्तानका चाँहि अर्कै भइसकेको होला हामीलाई चाँहि दालभात पावरले नै काम गरेको छ ।

अब उसो भए मूल मुद्दा के त भन्नुहोला । त्यो चाँहि यसै भन्न गार्हो छ । अन्न खाऔं पैसा देशमा रहन्छ भन्ने अवस्था नि रहेन । आयातमुखी अर्थतन्त्र । सुगरले गाँजेको ज्यानमा भात झन् बिखै होला । कुरो बढी सामाजिक रह्यो । भात खाएँर आए भन्दा सानो हुइने अनि ब्रेकफास्ट वा लन्च गरे भन्दा ठूलो भइने चाँहि होइन है । जसलाई जे मिल्छ, रुच्छ तेही हसुर्ने हो । अनि तेसमाथि खाएकै चिजमा किन धेरै गलफती । लु मैले चाँहि ब्रेकफास्टमा भात, दाल, तरकारी खाएर आएँ अनि तपाईँले?

© 2020 Nepal Ko Page नेपालको पेज. All rights reserved.

Theme by Anders Norén.