Nepal Ko Page नेपालको पेज

Menu Close

फुनका किस्सा

देश कै कुरो गर्न खोजेको त हैन, आफ्नै अनुभव कोट्याउन खोजेको । २००५ मा हुनपर्छ ल्हासा—काठमाण्डौं बस फेरि सुरु भयो । उताबाट आउने गाडी र सवारलाई स्वागत गर्न हामी आफ्नै साझा बसमा पत्रकार सहितको टोली तातोपानी नाकासम्म जाने अनि ¥याफ्टिङ्ग, बन्जी गरेर फर्कने कार्यक्रम । साझा अहिलेका चिल्ला राम्रा गाडी भएको अवस्थाको नभएर केही बचेको एक्सन विथ साउण्ड वाला गाडी भएको समयको कुरो । त्यो भनेको ब्रेक लाउँदा, गियर चेन्ज गर्दा शानदार आवाज आउने । जे होस् गाडी भेटियो, चढियो, पुगियो मितेरी पुल ।
चीन पहिलो पटक साक्षात प्रकट तेही बेला भएको मेरो भूगोलमा । अलि कडा देश, माल्छे कुङफु कराँते सिकेका मात्र हुने भन्ने दिमागमा अमिट छाप । आउने यात्रुलाई स्वागत गर्न बुद्ध प्रतिमा लगेका थिएम् जस्तो लाग्छ तेतिखेर । पुलको बीच तिर पुगेर आउने टोलीलाई खादा लगाइयो, मायाको चिनो दिइयो, हाँसियो, फुटो खिचियो । पारीको पुलिस त्यो बाँढ्ने साथीको कानमा केही भन्न खोज्दै थियो । लौ यो पुलमा बसेर यस्तो गर्न पाइँदो पो रहेनछ कि क्या हो भन्ने लाग्दै थियो । ती चीन जानकार मित्रले बचेको २ वटा बुद्ध थमाए अनि मन शान्ति पाइयो । चीनको अर्को रुपले झ्याप्पै छोप्यो ।

पुल टेकेर चीन नै पुग्न अलिधेर समय लाग्यो । २०१० मा ग्वाङझाउ जाने मौका जुर्यो । यो चीनको बेइजिङ, सांघाइ पछिको ठूलो शहर हो जस्तो लाग्छ । शाकाहारी मुन्छे चीनमा गाह«ो हुन्छ । धेरैले सुझाए । म्याकडोनल्डसमा गएर खाने चिज फ्रेन्च फ्राइ सिवाय अरु भेटिएन । पछि अन्य मुलुक पुगेपछि गाह«ो त अन्यमा अझै बढी पाउँदा मुल अप्ठ्यारो चाँहि भाषा हो भन्ने निक्र्योल निकालियो जुनमा तपाइँहरु पनि सहमत नै हुनुहुन्छ भन्ने लाग्छ ।

तेही म्याकमा बसेर आलु बजाइराख्दा एउटोले फुन देखाउन आयो । कहाँको चानचुने फुन हुनु त्यो त आइफुन । सर्च गरेर जानकारी पाएको म जस्ताका लागि त्यो समयको आइफुन बोक्नु सपनाको पनि अग्रपंक्तिका कुरो । १ आरएमबी १० जति थियो क्यारे तेतिखेर ५०० भनेपछि पाँचै हजारमा । मुख रसाएर आयो, खल्ती चिलायो पनि । फेरि ठग धेर हुन्छन् जहाँ पायो तेँही पैसा साट्न हुन्न भनिएकै थियो । आफूले बुझेको आइफुनका फिचर चेक गरियो र झ्याप्प बगलीमा हालेर चार्जर लिइयो पैसा बुझाइयो । फेरि २वटा लिने भए ७५० मा दिन्छु भन्यो । धेर लोभ त ठीक हैन भनेर पुरानो निर्णयमा अडिग भइयो ।

मोबिल हातमा लिएर फुर्किदैं, हौसिदैं कार्यक्रम स्थल आइयो । साथीलाई भन्नु अगाडि चार्ज फुल गर्नपरो भन्ने लागेर जोडिया, साइँसुइँ गरेन । लौ बित्यास प¥यो, अघि चलेको चिज चलेन । कहिलेकाँही कनेक्ट गरेको पोइन्टले नि होला भनेर होटल आएर गर्दा नि भएन । अन नभएको फुन क्यार्ने हो कन्फ्युज भइयो । नजिकैको रेष्टुरेन्टमा काम गर्ने नेपाली सेफसँग दोस्ती भाकोथ्यो, तेइ साथीलाई गुहारेर बनाएर नेपाल पठाइदिन अनुरोध गरियो ।

आइफुन बोक्ने सपना तुहिन लाग्यो । चिनिया दोभाषे मित्रलाई सस्तो आइफुन पाउने राम्रो पसलमा लग्न भनियो, उल्लु भएको कुरो अरुलाई भन्न नि भएन । बरु यसपालि सिधै आइफुनको कपी भन्ने ठाउँमा गइयो र फेरि ५०० मै ६४ जिबीको लिइयो । यो फुन चाँहि बकैदा बट्टा भएको, कपी नै भनेर पसलले भनेको हुँदा चल्ने कुरामा ढुक्क भइयो ।

फुन चल्यो । ६४ जिबी भनेका मेमारी खोल्दा एमबीमा आयो । देशाँ आएपछि १६ जिबीको मेमोरीे अर्को १५०० तिरेर हालियो । एभरेष्ट तिर ट्रेकिङ जाँदा पेण्टको खल्तीमा हालेर लम्किदा स्क्रिन झिरिप्प भो । बनाउँदा अर्को ३ हजार भनेपछि तेसलाई डस्टबिनमा बिसर्जन गरियो ।

उता चीन मै छोडेको मोबिलको झल्यास्स याद आयो । साथीलाई फुन गरियो बन्यो भन्दै ।साथी हँसिलो थियो नै मेरो फोनमा अलि बढी हाँसीरहेको थियो । किन भनेर धेरै बेर कुर्नै परेन । तपाईले त्यो फोन भनेर छोड्नु भएको त भिडियो गेम रहेछ बिग्रेको । साथीको अर्को खित्का आयो । यसपटक चाँहि आफू नि धीत मरुन्जेल हाँसियो । त्यो बेच्नेले कुन सटक फुन साटेर अर्को भिडायो प्रश्नु अनुतरित नै छ आजसम्म ।

चीन र आइफुन अलि नजमेपछि नबोक्ने नै निक्र्योल गरिसकेको पछि फेरि अलि सस्तोमा आइलाग्यो । बोकियो ।

© 2020 Nepal Ko Page नेपालको पेज. All rights reserved.

Theme by Anders Norén.