यो सुन्दासुन्दा नि कान टट्याइसकेको छ । कति कोबिडको कुरो गर्नु २०७२ को भुइँचालो कै कुरो गरम् न । जमिन हल्लिने क्रम नरोकिदाँ मुन्छेलाई अग्ला कुरा चढ्न त परै जाओस् हेर्न समेत डर थियो । चिज सामान्य हुँदै गयो, अनि कडा नियमहरु लल्याकलुलुक भए । टेकोले अड्याएको टुँडाल कै आडमा डेटिङ्ग नि भए, बच्चाहरुलाई खेल्ने दरो खाँबो नि तेइ भयो । सर्ट टर्म मेमोरी त ठीक तर कुन हदसम्मको । भुइँचालोको समयमा सन्सार सकियो झैँ धर्मकर्म, सहयोग, भाइचाराको हाइट क्रस गर्ने अलिपछि केही नभएको जसरी साना कुरामा नै अल्झिने । यो हाम्रो परिचय नै भइसक्यो ।

अब अहिलेको कुरो । भुइँचालो हामीलाई आयो, दुख हामीले पायौँ, सहयोगको याचना साह«ा सन्सारको अघि गरेम् र दिल खोलेर सहयोग नि पाइयो । अहिलेको स्थिति फरक छ, साह«ा विश्व तरङ्गित छ, सरकारलाई कर्मचारीको तलब कसरी खुवाउने अनि बजेट कहाँबाट जुटाउने भन्ने छ । अनि सम्पूर्ण विश्व नै यही अवस्थिति कै वरिपरि छ । अब को सहयोग माग्ने अनि को दिने भन्न गाह«ो छ । भुकम्प पीडित, अनि कोबिड पीडित, पीडाको यात्रालाई टुटाउन जरुरी छ । हाम्रा हात भन्दा माथिका कुरामा चिन्ता हैन तयारी चाहियो । तेइ भएर लिभिङ विथ कोबिड भनेको ।

लाग्ला भनेर मान्छे, काम अनि समाजबाट दूरदूर हैन, सुरक्षित हुने उपाय अबलम्बन गरी दैनिकी अघि बढाउने । २ महिना भन्दा बढी समय घर मै बसेकाले अब उकुसमुकुस चरम मुकाममा छ । कोबिडले प्रभावित संख्या भन्दा डिप्रेसनले धेरैलाई पिरोलेको छ । प्रत्यक्ष रुपमा घम्साघम्सी गर्न नपाएपछि सामाजिक सञ्जालले तेसको रिक्तता पूरा गरेको छ । सामाजिक सञ्जालले केहीको सामाजिक दूरी बढाएको छ । यसलाई फाटो ल्याउने कारक हैन जोड्ने पुल बनाउन प्रयत्न जरुरी छ ।

सरकारले लकडाउन खोल्ने तरिका सार्वजनिक नगर्दै ब्यवसायीहरुले पसल खोल्न थाले । स्थिति अझै पकडमा छैन र कहिले सामान्य हुने थाहा छ्रैन । यस्तो अवस्थामा सरकारको नियम नै खोज्नु वा पछि लाग्नु भन्दा स्वअनुशासन कायम गर्नुको बिकल्प छैन ।

कामको पनि विकल्प छैन । गर्ने कि नगर्ने भन्ने हैन कसरी गर्ने भन्ने सवाल हो । कोबिेडसँग लडौं भन्ने नारा भन्दा कोबिडसँगै बाँचौं बढी उपयुक्त छ । यसको मतलब कोबिड लगाउने, सार्ने भनेको पक्कै होइन । लागेको ब्यक्ति नजिकै हुँदा नि कसरी सुरक्षित हुने भन्ने हो । चिउँडोमा मास्क लगाएर पास भिरेर उकुसमुकुुस मेटाउन हुँइकिन लम्केका पाइला रोकिने स्थिति जबसम्म नआउला तबसम्म खतराको घण्टी बजिराख्ला ।

अब अलि रोचक कुरो । कविताको नाम सुन्दा नै नाक खुम्च्याउनेले कविता लेखेका छन् । नाचका नाममा हर कहिल्यै नबङ्गाएका टिकटकमा नाची रहेका छन् । धेरैलाई नौटङ्की लागे पनि यस्ता हावा कामले मानसिक स्वास्थ्य ठीक बनाएको छ । यो पनि न्यु नर्मल नै हो ।

अप्ठ्यारो समयले नयाँ कुरो सिकाउने, सिर्जना गर्ने पनि गर्छ । अनलाइन पेमेन्ट गर्न तेती सहज नमान्नेहरुलाई यो समयले भुक्तानीको सहजता सिकायो पनि । अनलाइन साइटहरुको ब्यापार बढेन मात्रै प्रयोगकर्ताहरुले यस्ता किनबेचलाई बिस्तारै दैनिकीको पाटो नि बनाए ।

न्यु नर्मल सबै स्थिति र सबै तप्कामा लागु हुन पनि अति आवश्यक छ । गाडामा साग बेच्ने किसानलाई धपाउने अनि सुपरमार्केटमा साग बेच्नेलाइृ खुला राख्ने कुनै कोणबाट ठीक हुन सक्दैन ।

न्यु नर्मल पहिला प्रचलनमा नभएको र अबका दिनमा दैनिकीको अभिन्न अङ्ग हो । डाक्टर, स्वास्थ्यकर्मीले मात्र पटकपटक हात धुने, स्यानिटाइजरको प्रयोग गर्दै आएकामा अब सामान्य भन्दा सामान्य अवस्थामा जसले पनि प्रयोग गर्ने । सामाजिक दूरी हैन शारीरिक दूरी कायम गर्ने ।