चिटिक्क भएर गमक्क फुलेर कुर्सीमा बस्दा नि के को सकस भन्नुहोला । तर तनाव ठूलै छ ।
जाडोले ढ्याङ्गरो पिट्दै ल्याउँदा ज्यानलाई कपडाको दुकान नबनाइ सुख छैन । अब लुगाको एक पत्र भए पो, पत्रेदार लुगाको चाङ्गबाट टाउको सरक्क निकालेर हिँड्दा जति जे ह्याण्डसम भन्नुस लुगा तह लाउने महाभारत अर्कै छ ।
बाहिरको प्याण्टबाट भित्रको थर्मोकोटको ब्यालेन्स तलमाथि हुँदा त तैबिसेक सम्हाल्न सकिन्छ, भित्रि बस्त्रको र थर्मोकोटको नमिल्दा त रेस्टरुम गई शान्तिको खोजी गर्न हतार हुने क्या । तेसमाथि अकासिएको भुँडीको टेण्टलाई ठाउँ दिदाँ भित्री बस्त्रको अंग्रेजी अङ्क एट आकारले बस्त्र सम्हाल्नु कि अड्डामा भेट्न आएका मान्छेका कुरो सुनम् भन्ने दुविधा ।
खैर विना तनावको को माइकालाल होला र । गाडीको लाइसेन्सका ट्राइलमा तेही एटको आकार बनाउन नसक्दा कति पटक चिप्लियो यहाँ चाँहि नचाइने कुरोले एट बनाउने अनि त्यो कुरोलाई सोझ्याउदा सोझ्याउदैं जुनी कट्ला भन्ने चिन्ता ।
टेन्सन लिने कुरो हो र, दिने हो, बुझक्कीको वाणी तर पाइलै पिच्छे तनाव छ हजुर ।
अनि बडो सम्हालिएर कुटनीतिक हाँसो मुखमा चिप्काएर बोल्यो, पहिलो कुरो नै ठिस क्या । तपाईँ त पहिले भन्दा बडो मोटाउनुभएछ । विचार गर्नुस है, प्रेसर सुगर के छ । साक्षात डाक्टर कै अवतारमा सोधि पो हाल्छन् । अनि भएभरको धैर्यता जम्मा गर्दै मन्द मुस्कानका साथ हजुरले मलाई कहिल्यै दुब्लो पातलो देख्नुभाछ र भनेर आफ्नो जिज्ञासा राख्ने धृष्टता गर्यो ।
साँच्ची अरुका ज्यानका बारेमा प्याच्च प्याच्च बोल्न हामीलाई सिकाउन कसैले पर्दोरहेनछ ।
दुँनियाका दुखमा जगहसाइ गर्ने बानी नि परापूर्व कै हो । बेजोडले कोही पछारिदाँ, उसको सास फुलेर हुनसम्मको तकलिफ उसलाई हुँदा नि हाम्रा हाँसो टुट्दा रहेनछन् । अनि तेही अघिको हाँसोको पात्रका ठाउँमा चाँहि आफैँ चिप्लिदाँ अरुले ठूलो हाँसो त कुरै छाडौं मन्द मुस्कान मात्रै दियो भने नि बतिसी निकाल्ने गरी जाइलागौं झै हुने ।
भो भाइलेन्सका कुरा नगरम् । भाइलेन्स छोडम् साइलेन्स बनाम् । हो तेही साइलेन्सका नाममा आज एत्ति ।