दृश्य १
अस्पतालमा वुवाको पालो कुरेर बसिरहँदा एक दिदी आइपुगिन् । उनको साथमा विरामी छोरो अनि एक अस्पतालको कर्मचारी पनि थिइन् । वुवाको उमेर ६५ पालो कुर्दा अलिक अधैर्य भइसक्नुभएको थियो । ती दिदीले अर्की दिदीलाई छोरोको पालो चाँडै आउने बनाउन भनसुन गराउन ल्याउनु भएको रहेछ । डाक्टरसाबकामा पुगेर उनले अाफ्नाे चिनजानकाे हो यसो मिलार छिटो हेरिदिन अनुरोध गरिन्, डाक्टर हाँसे र कार्ड छोड्न भने । जम्माजम्मी ५ जना बाँकि थिए जाँचिन । प्रत्येक विरामीका नाम बोलाइँदा दिदी अघि आउँथिइन् अनि हाम्रो पालो त आइसक्नुपर्ने भन्दै खुइय गर्थिन् । ती दिदी निरास थिइन् यत्रो भनाउँदा नि पालो आउन ढिला भएकामा । यी दिदीले आफ्नो छोरोलाई कस्तो आचरण सिकाउलिन् । भोलि त्यो छोरो ठूलो हुँदा पाइलैपिच्छे हरेक मोडमा पालो मिच्नेछ, आफ्नो केही नचल्दा सरकारलाई सराप्नेछ । हो सामान्य देखिने यस्ता दृश्य हाम्रा दैनिकी भइसके अनि बल हुनेले पालो मिच्नु नियति ।
दृश्य २
धर्म आस्था कम ब्यापार बढी भएको छ आजभोलि । जसरी बजार बिस्तार गर्न मार्केटिङ्ग अपरिहार्य हुन्छ ठीक तेसरी नै धार्मिक कार्यहरु जुन मूलत आत्मशान्ति र शुद्धिका लागि गरिन्छलाई आजभोलि तडकभडक होहल्लाका बीच गर्न ब्यक्ति र संस्थाहरु तल्लिन देखिन्छन् । हरेक धार्मिक अनुष्ठानहरु माइकमा अझ लाउडस्पिकरमा हुनु, धार्मिक -यालीहरुले धेरै समयसम्म आवागमनमा ब्यवधान ल्याउने अवस्था हुनु पक्कै पनि धार्मिक कार्यक्रमबाट आशातीत फल होइनन् । यस्ता तडकभडकले आयोजकलाई बजारको पकड बढाउन त सहयोग गर्ला तर आममानिस सदैव मारमा पर्ने छरलङ्ग छ ।
आस्थाका यी केन्द्रहरुमा लाग्ने लाममा पनि छलछाम् गर्ने प्रवृति हावी भएछ । लाइनमा बसेका भन्दा अनेक उपाय गरी अघि पुगेर दर्शन गर्न समेत पछि नपर्ने जमात बढेकै छ । पालो कुर्नेलाई त छल्न सकिएला तर जसका अघि पुगेर मनका बह फुकाउँछौं ती भगवानले कसरी बुझ्लान दर्शनलाई र के फल देलान् विचारणीय छ ।
दृश्य ३
साँघुरो पुल छेउबाट कर्कश स्वरमा केही मोटरसाइकल गुडे । छेवैमा एक बृद्ध बा मलाइ नमार भनेर हात जोडेर भयमिश्रित आवाजमा अनुनय गर्दै थिए । ती बालाई आज यी केटाहरुले तेही ठामको ठाम आफ्नो इहलिला सकिदिन लागे भन्ने त्रास थियो । बाइकमा हुइकिनेका आवाज बढो ठूलो ट्याक्टरै जस्तो थियो सायद साइलेन्सरमा प्वाल पारे पछि यस्तो आवाज आउँछ क्यारे । अनि हुँइकाइ पनि यस्तो बेगमा थियो लाग्थ्यो एक सेकेण्ड ढिलो भए बम पड्किने अवस्था छ । भोलि नै नभएको जसरी हुइक्याउने यी केटाहरुको यो कुदाइ खालि माइन्ड फ्रेस गर्नलाई गरिएको भन्ने उत्तर पाउँदा नास्तिकका पनि ईश्वर प्रति भक्ति बढ्ने देखिन्छ । अनि केटाहरु फ्रेस भइरख्दा अन्य बटुवाहरु ईश्वरका प्यारा नहोउन् ।
अन्तिममा
धैर्यता सबैभन्दा बढी चाहिने ठाउँहरु–अस्पताल, मन्दिर अनि सडकमा झन् बढी अधैर्य मानिस भेटिन्छन् । सडकमा देखिएको रफ्तार अन्य स्थानमा नि हुने भए देश के पो भइसक्थ्यो । अनि ट्राफिक बत्ति, ट्राफिकका इशारा, जेब्राक्रसमा एक मिनेट कुर्न नसक्नेले सदियौंदेखिको दूराअवस्थाका लागि के चाँहि लछारपाटो लाए? अर्काले आफूभन्दा लाइनमा अगाडि छिसिक्क केही गर्यो भने गर्जिने स्वाभिमान लुसुक्क अरुको पालो मिचिराख्दा गजबले सुत्दो रहेछ ।
देशमा राजनीतिज्ञले केही नगरेको पक्कै हो । अनि अरुका पालो मिच्ने,कमजोरको फाइदा उठाउने संस्कारले धमिरा जसरी देशलाई सिध्याउने नै छ ब्यक्तिगत रुपमा केही भलाे गर्दैन । पालो कुर्ने बानी र धैर्यता बढाउनु सिवाय अन्य उपायकाे खाेजीले हामीलाइ कँही पुर्याउदैन । विकसित मूलुकमा देखिने र हाम्रामा पटक्कै नभएको यही सामान्य कुरो समय मै ब्यक्तिगत रुपमा बानी बनाए दुख देशले पाउने थिएन लाभमा हामी नि हुने थियाैं ।
आगे जो आज्ञा ।।