सुधन सुवेदी
मसी
अस्थायी मार्करले
बोर्डमा केही लेखियो।
केही क्षणमै पुछियो—
शब्द मेटिए,
तर अर्थ भने मेटिएन।
अहिले
बोर्डभन्दा बढी
मानिसहरूको मनमा लेखिएको छ त्यो।
के लेखिएको थियो भनेर
बहस चलिरहेछ।
सायद,
कतिपय वाक्यहरू
देखिनका लागि होइन,
हराएपछि बोलिनका लागि लेखिन्छन्।
मिस्सी
तासको गड्डीमा
एक्का जित्छ,
बास्साले शासन गर्छ,
मिस्सीले खेल दबाउँछ,
गुलामले सबैको आदेश मान्छ।
सबैको मान्छे,
तर कसैको हुँदैन।
जीवनले भने
मिस्सीमै रोकिन सिकाएन।
त्यसपछि पनि
हामी अर्को पाना पल्टाइरहन्छौँ—
किनकि
कुनै खेलको अन्त्य
कुनै एउटै पत्ताले लेख्दैन।
मेस्सी
आगोझैँ खेलिरहेको छ मेस्सी।
गोलहरू
उसका खुट्टाबाट होइन,
वर्षौँको धैर्यबाट निस्किन्छन्।
आज संसार भन्छ—गोट।
तर त्यो एउटा शब्द बन्न
दुई दशक बढी लाग्यो।
हामी भने
कसैलाई
बीस मिनेट पनि दिँदैनौँ
निर्णय सुनाउन।
शायद
मसीले लेखिएको सत्य,
मिस्सीले फेरिइरहने जीवन,
र मेस्सीको यात्राले
एउटै कुरा सिकाउँछन्—
समयले मात्रै
शब्दलाई अर्थ,
पातलाई मूल्य,
र मानिसलाई इतिहास बनाउँछ।

