अक्षरहरू एकाएक चल्मलाए, मानौं
उनीहरूको ग्रह नक्षत्रमा
घना कालो बादल मडारियो ।
यसरी छट्पटाए, मानौं
उनीहरूलाई बुनेर अक्षर बनाउने त्यो डिको
कुनै फकिरको ओठमा जलिरहेको चुरोटसरि
जलेर सकियो !
कुनै अर्कै आयाममा
नजिक रहेर पनि अनभिज्ञ
सबैभन्दा जेठो ‘क’
र, सबैभन्दा कान्छो ‘ज्ञ’बीच
ठूलो चिन्तन भयो,
र, उनीहरूले
दैव्य सहयोग लिने गरी
आफूबीच मात्र ३३ बलिया अस्त्र राख्न भनी
सबैभन्दा कमजोर
‘म’लाई आफूदेखि अलग्याइदिए !
अस्तित्वको किनारमा बसी
अलग्गिएका आफ्नालाई हेर्दै
‘म’ यसरी मुस्कुरायो, मानौं
त्यो मुस्कान यो सिंगो अक्षरजगतको
व्यवस्थाविरोधी लडाइँ हो !
‘म’लाई थाहा थियो-
ऊबिना त्यो अस्तित्वमा
कहीँ न कहीँ
एउटा अधुरो शून्यता बाँकी रहनेछ
जसको आफ्नै घनत्त्व हुनेछ !!
अलग्गिएको ‘म’,
जसमा बाँकी थियो सिंगो ब्रह्माण्ड
समेट्न सक्ने शून्यता
र, थियो
आफूलाई मात्र पुग्ने उज्यालो,
लाग्यो मोक्ष-यात्रामा !
उसलाई थाहा थियो-
अबको एकलयात्रा
यात्रा मात्रै नभएर
सिंगो अक्षर सभ्यताको
प्रतिनिधित्त्व गर्ने जीवन्त दर्शन हो !
यात्रा र दर्शनको
भुमरीमा पेलिएको ‘म’
अन्तिमपटक यसरी मुस्कुरायो, मानौं
त्यो मुस्कान आफैंसँगको लडाइँको
पूर्वसूचना हो,
आफैंभित्रको द्वन्द्वको
सजीव तस्बिर हो !
Kaka says:
.
October 8, 2018 — 10:36 pm