विहानको कलेज, कीर्तिपुरदेखि लैनचौर पुग्नुपर्ने साँढे ६ नै बजे । तेती विहान चिया नास्ता केही चमेना गरेर गाडीको साँढे ५ बजेको फस्ट ट्रिप नै भ्याउनुपर्ने वाध्यता । चिया र केही गज्याङगुजुङ खाएर हिँडेकोले कलेज छुटेर घर फर्किदा पेट कुइँकुइँ मज्जाले गर्थ्यो । सँगै स्कूल पढेको एक साथी चाँहि विहान ४ बजे नै उठीवरि एकथाल भात बजाएर कलेज आउँदो रहेछ । उसलाई कलेज जति लम्बिए नि कुनै चिन्ता हुने कुरै भएन । हैन विहानै कसरी भातै रुचेको होला भन्ने लाग्थ्यो तेतीबेला । अहिले बाउको हटसिटमा आफूलाई राख्दा बच्चालाई स्कूल पुर्याएर अफिस भ्याउने भागमभागमा ४ नै त होइन साँढे ७ तिर पकाइवरि खाने अभ्यस्त भइएछ । यो नि गजबको समयको घुमाइ भो ।