जमाना नै झगडाको छ, रियालिटी शोका टिआरपी यस्तै झगडाले बढेको छ । एकअर्कालाई गालीगलौज गर्दा हेर्ने मान्छेलाई फिल्मी सिन झैं घतलाग्दो हुनेरहेछ तेही भएर अहिले रिस, झगडा, बिकाउ छ । उबेला माया पिरेम बाँडम् भनिन्थ्यो यस्तै कुरो देखाइन्थ्यो अहिले तेस्तो ट्याम रहेन, धुमधढाका, झापड, मुरम¥याइ मसला बनेको छ । र यस्तै संसार जो हामी बाँची रहेका छौं तेसको असली पहरेदारका रुपमा ट्रम्प दाजु खडा छन् ।


ट्वीटर उनका गाली अनि घृणाले अझ बढी चलायमान छ् । कसैले त उनलाई ट्वीटरबाट हटाउन ट्वीटर नै किन्नपर्ने भन्दै चन्दा संकलन सुरु गरिपनिसके । उनकै नियमित गालीको सिरिजमा यसपालि हाम्रै नम्बर आएको छ । उनले नर्कको प्वालजस्तो देश नेपालबाट अमेरिकामा किन मान्छे आउँछन् भनेछन् । दक्षिण छिमेकीबाट सानो छुसुक्क केही आएको भए यसले सबैलाई कोटा पुरयाउँथ्यो । विशेषत आन्दोलनकर्ता, टायर बेच्ने, समाचारवालालाई अनि अन्ध राष्ट्रवादको गीत बजाएर जनताको आँखामा छारो हाल्नेलाई ।


यो वर्ष घुम्नैपर्ने मुलुक, यो वर्षमा घुम्न छुटाउनै नहुने यावत् शब्दहरु नेपालका लागि सम्मानका रुपमा आइरहेका छन् र यी मानसँगै दाजुका बिर्सनलायक, अलोकप्रिय, राष्ट्रको मर्ममा सोझै प्रहार हुने शब्दहरु पनि पढ्न पाइएकै छन् । देशमा अनेक कारणले टिक्न र बिक्न नसकेर विदेश भासिनेका श्रम अनि सिपको प्रयोग गरेरै ट्रम्प दाजुको राष्ट्र बनेको हो । को सच्चा अमेरिकी र को बाहिरिया सदाको गन्थनिय विषयलाई पनि एकैछिन थन्काउने हो भने पनि जे जुन कुरामा आज अमेरिकाले आफूलाई अब्बल ठहराएको छ त्यसमा बढी आयातित बुद्धि र विवेक परेको सच्चाइ मान्नैपर्छ ।

दाजु तपाईका यी शब्दले जति मुटु छेडे पनि असली गालीको हकदार हजुर होइन । सपना बाँड्ने सुत्न नदिने, राष्ट्रवादको गीत घन्काउने कर्मको कुरो नगर्ने, सत्ता र शक्तिका हनुमान, कार्यकर्ता मात्रै पोस्ने अनि आम नागरिकलाई कहिले आफ्नो नदेख्ने राजनैतिक दलालहरु नै मुख्यत यस मामिलामा जवाफदेही हुनपर्छ ।
भोट दिएर स्थायित्वको आशा राख्ने ती जनतालाई पलपलको गद्दारी गर्ने, आश्वासनका उडानमा बास्तविकताको धरातल बिर्साउने, राम्रालाई तिलाञ्जली दिएर हाम्रा र हनुमानगिरी गर्नेलाई पुरस्कृत गर्ने पद, खोक्रो प्रतिष्ठाको पूजारीहरु नै मुख्य कारक हुन् यो दूरावस्थाको ।

डेढ लाख पर्ने फोनमा राष्ट्रको रुपमा नेपाल नभेटिदाँ हाम्रा धरातल छर्लङ्गिन्छन् । अनि यस्ता टिका टिप्पणी जुन बेलाबेलाँ आइरहन्छन् त्यसमा अज्ञानता, रिस, आवेग भन्दा पनि बढी आफ्नै भूराजनीतिक अवस्था बढी दोषी भेटिन्छन् । एक बृद्धको सम्पूर्ण जिवन नै सक्रमणकाल भन्दा भन्दै बित्ने अवस्था आइसकेको छ । अरुलाई गालीको बद्ला गाली गर्नुको सट्टा नेतापंक्ति जसले मुलुकको बागडोर नै आफ्नो हातमा आएको भन्ठान्छन् तिनलाई तिमीहरु फेल भयौ अब सन्यास लिऊ भन्ने बेला आइसकेको छ ।

अन्तिममा संसार हल्लाउने देशको सर्वोच्च पदमा आसिन भएर सँधै हल्लिने देशका बारेमा यस्तो वाणी राखिदिनुहुने ट्रम्प दाजु हजुरलाई गेट वेल सुन ।