आज सगरमाथा दिवस । सगरमाथा चढ्ने, फेदमा पुग्ने मात्र हैन, हेरेर दङ्ग पर्नेका लागि पनि ठूलो चाड । सगरमाथाका कुरा चुलिरहँदा आजै भेट्ने मौका जुर्यो पुष्कर शाहसँग । उनको परिचय साइकल यात्री जसले १५० देश आफ्नो साइकलमा पार गरे मात्रै भन्दा पनि अपूरै होला । सगरमाथा पनि चढे । तेसैले पनि आजका दिन उनका कुरा बुन्दा सान्दर्भिक नै होला भन्ने ठम्याइका साथ लेख्दैछु ।अलि अगाडि अष्ट्रेलियामा भाँडा माझ्दैछु भन्दै टिभी कार्यक्रममा भक्कानिएका थिए । यो कुरोले केही दिन बजार ततायो । उनी फर्के देश, आफ्नै अभियानमा लागे । अनि अहिले फेरि साइकलमा विश्व भ्रमण गर्ने निर्णयमा पुगे । उनको अष्ट्रेलिया बसाइमा आर्थिकोपार्जनका लागि गरेको मिहेनतलाई देखेर टिप्पणी गर्ने जानकारहरु सेलाएका पनि थिएनन् होला शाहलाई भने अर्को सगरमाथाले तानिसकेछ । उनको आफ्नै सगरमाथा, साइकलको संसार ।पुष्कर शाहले पदवी खोजेको हैन । चाँहिदैन पनि भन्छन् । म पनि त अरुजस्तै परिवार पाल्न पर्ने, आमालाई खुसी भएको हेर्न चाहने मान्छे हुँ नि । उनका कुरा सुन्दा लाग्छ चर्चाको संसार भन्दा बास्तविकताको संसारले न्याक्दो रहेछ, टोक्दो रहेछ ।भेट्दा कसैका साइकलसँगै फोटो खिचाइरहेका, कसैका कापीमा सही धस्काइरहेका, जसलाई अटोग्राफ भन्छौं, देखिएला ।तर तेही सही दिँदा गमक्क पर्ने अनि फोटोमा मुस्कानका साथ प्रस्तूत हुने ब्यक्तिको संसार सहज छैन ।काममा विदेशियो, भाँडा माझ्ने भनेर दारे हात, यहीँ बसेर केही गरम् भन्यो न साथ सहयोग । अनि गर्ने के? बरु साइकल नै बेस भन्ने ठम्याइ हुर्क्यो, बढ्यो अनि कुद्यो गुटुटु । बतासे नि भन्छन् उनलाई, गर्ने भनेपछि पछि नफर्कने ।१५० मुलुक साइकलमा पुग्ने, सगरमाथा चढ्ने, किताब लेख्ने, नेपाललाई विश्व सामु सुपरिचित गर्ने कामका अगुवा यिनलाई अबका दिनका यात्रामा सक्दो सहयोग गर्दा अप्ठ्यारो नहुनुपर्ने हो। अघिल्लो यात्राको दौरान सरकारी कुनै खर्च नलिएका र अपेक्षा पनि नगरेका उनलाई र उनको यस यात्राको लागि शुभकामना ।नोटः फेरि गर्ने विश्वभ्रमणलाई लिएर पत्रकार सम्मेलन गरम् न त भन्ने कुरोलाई कुनै देश पुगेपछि स्वत हुने भनेर पर हुत्याउने उनमा दृढता स्पस्ट देखिन्छ।